ज्योतिषमा फल बताउने हजारौं माध्यमहरू छन् । तीमध्ये व्यक्तिको जन्मराशिका आधारमा बताइने फल निकै महत्वपूर्ण मानिन्छ । राशिको निर्धारण पनि पाश्चात्य मतअनुसार एक महिनासम्म एउटै राशि मान्ने चलन छ भने हिन्दु ज्योतिषले चन्द्रमाको आधारमा लगभग अढाइ दिनको एक राशि मानेको छ । त्यसैले पाश्चात्यको तुलनामा हिन्दु ज्योतिषमा राशि निर्धारण निकै सूक्ष्मरूपमा गरिएको पाइन्छ । यसमा जन्मनक्षत्रको नामअनुसार राशि निर्धारण हुन्छ जसलाई न्वारानको नाम पनि भनिन्छ । अब यहाँ हिन्दु ज्योतिषको आधारमा निर्धारित राशिअनुसार व्यक्तिको शरीरलक्षण, स्वभाव, रुचि, गुण, दोष, शुभ, अशुभ अदिबारे वर्णन गर्नुका साथै प्रत्येक राशिवाला व्यक्तिले लालकिताबअनुसार गर्नुपर्ने केही उपायहरूसमेत दिइएको छ । लालकिताबका उपायहरू प्रायः सरल र प्रभावकारीसमेत मानिएकाले तिनलाई यहाँ प्रस्तुत गरिएको हो ।