मिथुन राशी
नामाक्षर (का की कू घ ङ छ के को ह)
यस राशिवाला व्यक्ति मृदुभाषी, चञ्चल दृष्टि, दयालु, कामुक, सङ्गीतप्रेमी, कण्ठरोगी, यशस्वी, धनी, गुणवान्, गोरोवर्णको, कार्यकुशल, बोल्न सिपालु, कम बोल्ने, बुद्धिमान, दृढसङ्कल्प, सबैप्रकारले समर्थ र न्यायप्रिय हुन्छ । त्यसैगरी काला आँखा भएको, शास्त्रज्ञ, दूतकर्ममा निपुण, घुम्रिएको कपालयुक्त, हास्य एवम् विनोदप्रिय, जुवाडी, सुन्दर शरीरवाला, प्रिय वचन बोल्ने, गीत, नृत्य, नाटकआदिको जानकार आदि लक्षणको हुन्छ ।
त्यस्तै विद्वान्, मिष्ठान्नप्रेमी, सुशील, रतिप्रिय, गुणी, भोगी, दानी, धार्मिक, विषयासक्त, चतुर, शास्त्रज्ञ, कुशाग्रबुद्धि, पुस्तकप्रेमी, भ्रमणशील, सर्वप्रिय, बढी भोजन गर्ने, शरीरमा तिल र मुसायुक्त हुन्छ । यस राशिवाला व्यक्तिका धेरै व्यवसाय हुने वा व्यवसायमा परिवर्तन भैरहने हुन्छ ।
कुनै अपरिचित स्थानबाट अकस्मात् धन प्राप्तिको सम्भावना पनि छ । यस राशिको व्यक्तिलाई बाल्यावस्थादेखि वृद्धावस्थासम्म क्रमशः सुखबाट दुःखको अवस्था बढ्दै जान्छ । ।
यस राशिवालालाई वृष, सिंह, कन्या र तुला राशिवाला व्यक्तिबाट उपकार होला । यस राशिको मालिक बुध भएकोले त्यसको रत्न पन्ना लगाउनु शुभ हुन्छ ।
लालकिताबअनुसार
तामसिक भोजन नगर्नु, फट्किरीले दाँत माझ्नु, धार्मिक स्थलमा दूध र अक्षता चढाउनु, १२ वर्षभन्दा कम उमेरका कन्याबाट आशीर्वाद लिनु, सूर्य र बृहस्पतिको जप, दान एवम् पूजापाठ गर्नु, घरमा मनिप्लान्ट नलगाउनु र देब्रे हातमा चाँदीको औँठी लगाउनु ।